NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जातीय भेदभाव दिवस: उत्सव होइन, विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन – आङ्देम्बे

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव उन्मूलन दिवसलाई उत्सव नभई प्रतिबद्धताको दिन बनाउनुपर्ने बताएका छन्। उनले कानुनी व्यवस्था पर्याप्त नभएको र सामाजिक संस्कृतिको विकासमा जोड दिनुपर्ने उल्लेख गरेका छन्। सबै पक्ष एकजुट भएर विभेदरहित नेपाल निर्माणको अभियानमा लाग्न आह्वान गरेका छन्।
Sarita Pandey
Sarita Pandey
4 June 2026, 9:48 am १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र सीमित नराखी समाजमा विद्यमान विभेद अन्त्य गर्ने सामूहिक प्रतिबद्धताको दिनका रूपमा मनाउनुपर्ने बताएका छन्।

२०८३ सालको जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले कानुनी तथा संवैधानिक व्यवस्था पर्याप्त नभएको सन्देश दिएको उल्लेख गरेका छन्। नेपाललाई २०६३ साल जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको र २०६८ साल जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराउँदै उनले यी कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट पारेको बताए।

संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि विभिन्न तहमा जातीय भेदभाव र छुवाछूतका घटना देखिनु दुःखद रहेको आङ्देम्बेले बताए। यस्ता व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि आघात पुर्‍याउने उनको भनाइ छ।

उनले कानुन र दण्ड सजायको व्यवस्थाबाट मात्र विभेदको अन्त्य सम्भव नहुने भन्दै समाजमा समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए। यसका लागि सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम र नागरिक एकजुट भएर जातीय भेदभावविरुद्ध दृढतापूर्वक उभिनुपर्ने उनको आग्रह छ।

आङ्देम्बेले विविधताबिचको एकता सुदृढ गर्दै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणको अभियानमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन्। उनले यस दिवसलाई समानता र सामाजिक न्यायप्रतिको सामूहिक प्रतिबद्धताको अवसरका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार