१९ करोड भ्रष्टाचार मुद्दा खेपेका माधव नेपाललाई सह-संयोजक बनाइएकोमा झलनाथ खनालले प्रचण्डको चर्को आलोचना गरे।
खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत पार्टीको छवि धुमिल भएको दाबी गरे। १९ करोड भ्रष्टाचार मुद्दा खेपिरहेका माधवकुमार नेपाललाई सह-संयोजक बनाइएकोमा उनको आपत्ति छ। विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको व्यक्तिलाई सह-संयोजक बनाइनु गलत हो। खनालका अनुसार, यो राजनीतिक र नैतिक दुवै हिसाबले त्रुटिपूर्ण छ।
खनालले प्रश्न गरे, ‘जुन व्यक्तिलाई त्यस्तो मुद्दा लागेका कारण सांसद पदबाट निलम्बन गरिएको थियो र हालैको निर्वाचनमा शर्मनाक हार बेहोर्नुपर्यो, उनैलाई पार्टीको सह-संयोजक बनाउनु कति उचित हो ?’
पत्रमा खनालले भ्रष्टाचार मुद्दा लागेको व्यक्तिलाई संसदीय दलको नेता बन्ने अधिकार नहुने कानुनी व्यवस्था स्मरण गराएका छन्। सांसद पदसमेत नरहने कानुनी प्रावधान छ। सोही नियम पार्टी नेतृत्व चयनमा किन लागू भएन? उनले संयोजक प्रचण्डसँग जवाफ मागेका छन्। ‘भोलि अदालतले दोषी ठहर गर्यो भने पार्टी नेतृत्वको हालत के हुन्छ ? यो नैतिक प्रश्न हो कि होइन ?’ खनालले थपे।
नेता खनालले यसअघि नेकपा (एस) मा रहँदा माधव नेपाललाई लिखित सुझाव दिएका थिए। नैतिकताको आधारमा राजीनामा दिएर अदालतको फैसला कुर्न उनले भनेका थिए। तर, संयोजक प्रचण्डले ती तथ्य बेवास्ता गरे। नेपाललाई उच्च पद दिएर पार्टीमा दक्षिणपन्थी अवसरवाद भित्र्याएको खनालको आरोप छ।
‘अदालतको फैसला नआउँदै नयाँ स्थापना भएको पार्टीको सह-संयोजक बनाउनु कुनै पनि अर्थमा नैतिकताको कुरा होइन,’ खनालले भने।
संयोजक र सह-संयोजकबीचको ‘सेटिङ’ ले पार्टीलाई विघटनतर्फ धकेलिरहेको छ। खनालले नेतृत्वले तत्काल निकास दिनुपर्ने माग गरेका छन्। भ्रष्टाचार र वैचारिक विचलन बोकेको नेतृत्वबाट वैज्ञानिक समाजवाद सम्भव छैन। उनले नयाँ र स्वच्छ छवि भएका नेतालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।
