झापाको दमकबाट प्रहरीले गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको सटगनसहित २० वर्षीय सुमन कर्णलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी–६ घर भई हाल दमक–२ मा कार्यरत कर्ण छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको सटगन दमक–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाइराखेको सूचना प्रहरीले प्राप्त गर्यो।
उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले बताएको स्थानमा खोजतलास गर्यो। प्रहरीले कम्बलमा पोका पारी लुकाइराखेको अवस्थामा सटगन बरामद गर्यो।
प्रहरी नायव उपरीक्षक अवाले सटगन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।
