सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा जन्मकैद तोकिएका पाँच अभियुक्त १० महिनादेखि फरार छन्। उनीहरू ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए।
गत भदौ २४ गते देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए। सोही क्रममा न्यायाधीश बम हत्याका योजनाकार सर्लाहीका बाबु थापा (मेघबहादुर थापा) सहित चारजना सुन्धारा केन्द्रीय कारागारबाट भागे। उनीहरूसँगै करण चौधरी, प्रेमराज खड्का, दिपक कर्ण र सञ्जय मगर पनि फरार छन्।
सरकारले सुरुमा कैदीबन्दीलाई आफैँ कारागार फर्कन अपिल गर्यो। नफर्किनेलाई प्रहरीले पक्राउ गरी पुनः कारागार पठाएको छ। तर, बम हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद तोकिएका थापा र जन्मकैद तोकिएका करण, खड्का, कर्ण, सञ्जय पक्राउ परेका छैनन्।
सुन्धारा कारागारका जेलर कृष्ण चापागाईंका अनुसार, थापासहितका कैदी ‘जेनजी’ प्रदर्शनपछि कारागार फर्किएका छैनन्। थापाले २०६९ जेठ १८ गते न्यायाधीश बमको हत्याको योजना बुनेका थिए। बंगलामुखी मन्दिर दर्शन गरी फर्किंदै गरेका बमलाई ललितपुरको यूएनपार्कनजिकै गोली हानी हत्या गरिएको थियो।
प्रहरी अनुसन्धानमा थापासहितको संलग्नता खुलेपछि उनीहरू पक्राउ परेका थिए। ललितपुर जिल्ला अदालतले २०७३ असारमा थापासहित चारजनालाई दोषी ठहर गर्यो। मुख्य सुटर सञ्जयलाई प्रहरीले साउदी अरबबाट इन्टरपोलमार्फत पक्राउ गरी ल्याएको थियो।
पार्टी विवादमा आफ्नो पक्षमा फैसला नदिएको झोकमा बाबु थापाले न्यायाधीशको हत्याको योजना बुनेको खुलेको थियो। न्यायाधीश बमको इजलासले अर्को पक्षलाई आधिकारिकता दिएपछि यो घटना भएको थियो।
‘जेनजी’ प्रदर्शन हिंसात्मक भएपछि भागेका कैदीबन्दी ठूलो संख्यामा कानुनी दायराबाहिर छन्। गत भदौ २४ गते देशभरका कारागारबाट करिब १४ हजार ५५९ कैदी भागेका थिए।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी शिवकुमार अधिकारीका अनुसार, जेठ २९ गतेसम्म तीन हजार ७४३ जना कैदी अझै जेलबाहिर छन्। गम्भीर अपराधमा संलग्न र लामो कैद सजाय तोकिएका कैदीहरू फरार छन्। सुन्धारा कारागारबाट भागेका एक हजार २३७ जना र नक्खुबाट ३५४ जना अझै फर्किएका छैनन्।
