अत्यधिक गर्मीले कञ्चनपुरका स्थानीय पालिकाले विद्यालय बन्द गर्न थालेका छन्। विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाहरूले यो कदम चालेका हुन्।
शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेको छ। बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालय सञ्चालनमा कठिनाइ हुने देखिएपछि यो निर्णय गरिएको छ।
कृष्णपुर नगरपालिकाले आजदेखि तीन दिनसम्मका लागि नगरक्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। भीमदत्त नगरपालिकाले पनि सोही अवधिभर विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ। यी पालिकाले गर्मी बिदा वा लामो बिदाबाट कट्टी हुने गरी यो निर्णय कार्यान्वयनमा ल्याएको बताएका छन्।
कञ्चनपुरमा नौ स्थानीय तहअन्तर्गत ३४९ संस्थागत र २६० सामुदायिक विद्यालय सञ्चालित छन्। केही दिनयताको अत्यधिक गर्मीले कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान विभागले तातो दिन र तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहनेछ। केही स्थानमा ४० डिग्री सेल्सियस नाघ्ने सम्भावना देखिएको छ।
