कास्की प्रहरीले शनिबार ‘स्विप अपरेसन’मार्फत ४० जनालाई नियन्त्रणमा लिएको छ। समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध यो कारबाही गरिएको हो।
वडा प्रहरी कार्यालय बैदामले पोखरा–१७ दोबिल्लामा मापसे गरी सवारी चलाउने दुई र ट्राफिक नियम उल्लंघन गर्ने आठजनालाई कारबाही गर्यो। प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घाँटीछिना क्षेत्रमा मापसे गर्ने नौ र ट्राफिक नियम उल्लंघन गर्ने दुईजना पक्राउ परे।
वडा प्रहरी कार्यालय बगरले पोखरा–१६ अकलामा लागूऔषध सेवन गरी सवारी चलाउने एक, मापसे गर्ने तीन र ट्राफिक नियम उल्लंघन गर्ने चारजनालाई नियन्त्रणमा लियो। माछापुछ्रे गाउँपालिका–८ भेडाभारीमा मापसे गर्ने चार, स्वरूप परिवर्तन गरी सवारी चलाउने एक र ट्राफिक नियम उल्लंघन गर्ने छजना कारबाहीमा परे।
गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाको कुकुरसहितको टोलीले पनि सवारीसाधन जाँच गर्यो। प्रहरीले रातको समयमा होहल्ला, सार्वजनिक शान्तिमा खलल, लागूऔषध सेवन र जुवा खेलाउनेलाई नियन्त्रणमा लिँदै आएको छ।
मादक पदार्थ र गाँजा सेवन गर्नेलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइन्छ। आपराधिक पृष्ठभूमि भएका, पटकपटक संलग्न हुने र प्रहरीलाई दुर्व्यवहार गर्नेलाई अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइन्छ।
