काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लंघन गर्दै आएका ३१ सार्वजनिक सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ।
मापसे, लापसे, लापरबाही, बढी भाडा असुली, यात्रु अस्वीकार र नम्बर प्लेटबिना सवारी चलाउनेजस्ता कसुरमा बारम्बार कारबाहीमा परेका चालकहरूमाथि ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा मापसे र पाँच पटकभन्दा बढी कारबाहीमा परेका ८ जना चालक छन्। त्यस्तै, लापसे र पाँच पटकभन्दा बढी कारबाही भोगेका चालक ६ जना रहेका छन्। अन्य विभिन्न कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको संख्या १७ पुगेको छ।
ट्राफिक प्रहरीको अभिलेखअनुसार, सुमित तामाङ लागूपदार्थ सेवनसहित विभिन्न ट्राफिक उल्लंघनमा १८ पटक कारबाहीमा परेका छन्। नवराज गिरी २२ पटक ट्राफिक कारबाहीमा परेका चालकका रूपमा देखिएका छन्।
सुमन काफ्लेले ट्राफिक बत्ती उल्लंघन, रातिको समयमा बत्ती नबाली सवारी चलाउने, निषेधित समयमा सवारी चलाउने तथा लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा १९ पटक कारबाही भोगेका छन्। रकम राज बाइवा २० पटक कारबाहीमा परेका छन्। सुग्रिव थिङले ट्राफिक संकेत उल्लंघन, नम्बर प्लेट नराख्ने र यात्रु लिन अस्वीकार गरेका छन्। उनले अनुमति पत्रबिना सार्वजनिक सवारी सञ्चालन गरेको कसुरमा १९ पटक कारबाही भोगेका छन्।
राजेन्द्रप्रसाद लोहालाले १० पटकसम्म नम्बर प्लेटबिना सवारी चलाएको तथा राजु श्रेष्ठले ९ पटक नम्बर प्लेटबिना सवारी चलाएको पाइएको छ। श्यामबहादुर लामाले लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा ८ पटक र हेल्मेट वा सिटबेल्ट नलगाएको कसुरमा ७ पटक कारबाही भोगेका छन्।
विशाल रुम्बा लामा, मानबहादुर आचार्य, गोकर्ण श्रेष्ठ, किरणलाल श्रेष्ठ, राजु कुमाल, रामबहादुर पाण्डे, प्रविन दनुवार, राजुकुमार स्याङ्बो, भुवन केसी, अर्जुन रिमाल र मनोज पहरी पनि मापसे तथा विभिन्न ट्राफिक उल्लंघनका कारण कारबाहीमा परेका चालकको सूचीमा छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक नियमको पालना जीवन रक्षाका लागि आवश्यक रहेको बताए। उनले बारम्बार एउटै गल्ती दोहोरिनु कानुन कार्यान्वयन प्रणालीमाथिको चुनौती भएको उल्लेख गरे। ट्राफिक निगरानी र कारबाहीलाई थप कडा बनाइने जानकारी दिए।
प्रहरीले सार्वजनिक सवारीमा यात्रा गर्दा चालकले लापरबाहीपूर्वक सवारी चलाएको, बढी भाडा असुलेको वा लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल सम्बन्धित निकायमा जानकारी दिन यात्रुहरूलाई आग्रह गरेको छ।
