मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

काठमाडौं उपत्यकाका फोहोरपानी प्रशोधन केन्द्र छिट्टै सञ्चालनमा

काठमाडौं उपत्यकाका धोबीखोला, गुह्येश्वरी र कोड्कुमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन हुनेछन्। प्रशोधन केन्द्र सञ्चालनले नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घटाउने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ। गुह्येश्वरी केन्द्रले दैनिक ३ करोड २५ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता राख्छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
फोहोरपानी प्रशोधन केन्द्र
Share:
२३२

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र छिट्टै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोड्कु क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी र एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गरेका छन्।

गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको छ। अनुगमन टोलीमा पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ, एडीबीका नेपाल देशीय सञ्चालन प्रमुख अर्नाउड हेकम्यान तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालगायत सहभागी थिए।

अनुगमन निरीक्षणका क्रममा सचिव पुडासैनीले निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए। पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुह्येश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिए।

उनले नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको बताए। केही आयोजना सम्पन्न भइसकेकाले अब चाँडै सञ्चालनमा ल्याइनेछ। यी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमती तथा यसका सहायक नदीमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार