राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको सीमा मिचेको हो’ भनी हस्ताक्षर गर्नुपर्ने बताएकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा ओलीले संसद् अवरोधको मुख्य जिम्मेवार सरकार र प्रधानमन्त्री भएको आरोप लगाइन्।
ओलीले संसद्को अवरोध हटाउन दुई प्रस्ताव अघि सारिन्। पहिलो, प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयको वक्तव्यमा सत्तापक्षका सांसदहरूले हस्ताक्षर गरी सदनबाट स्वीकार गर्नुपर्ने। दोस्रो, यदि त्यसो होइन भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो वक्तव्य गलत भएको स्वीकार गर्दै माफी माग्नुपर्ने र त्यसलाई सच्याउनुपर्ने।
‘प्रधानमन्त्रीज्यूले एउटा कर्मचारीको म्यासेजलाई राष्ट्रिय मुद्दा बनाएर सामाजिक सञ्जालमा ‘बुलिङ’ गर्न सक्नुहुन्छ, तर राष्ट्रको सीमा जस्तो गम्भीर विषयमा स्पष्टीकरण दिन किन सक्नुहुन्न,’ ओलीले प्रश्न गरिन्।
ओलीले बीवाइडी विद्युतीय गाडीको कर छली प्रकरणमा पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले यस प्रकरणमा निष्पक्ष छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा जिम्मेवारीबाट अलग रहनुपर्ने माग गरिन्।
