नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको छ। उनी प्रधानमन्त्री बालेन शाहले आयोजना गरेको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएर निस्कने क्रममा नियन्त्रणमा परेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि संकटग्रस्त घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए। अध्यक्ष तामाङ पनि सोही छलफलमा उपस्थित थिए।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार, अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको थियो।
काठमाडौं जिल्ला अदालतले वैशाख २८ गते नै तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन परिचालन भएको थियो।
सिंहदरबार परिसरबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्तमा लगिएको छ।
