NM Khabar 17 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकको आयातमा सहजता

कोलकाता–विराटनगर रेल कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ। यसले तेस्रो मुलुकबाट हुने आयातलाई सहज, सस्तो र भरपर्दो बनाउनेछ। पूर्वी नेपालका उद्योगी व्यवसायीहरूले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
Kamala Devi
Kamala Devi
17 July 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
विराटनगर रेल कार्गो
Share:

कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएका मालसामान अब सिधै विराटनगरसम्म रेलमार्फत आइपुग्ने भएका छन्। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत यो सेवा शुक्रबार (साउन १ गते) औपचारिक रूपमा सुरु भएको हो।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसीटीएस) नियमावली संशोधन गरेको थियो। यसले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म सेवा विस्तारको अनुमति दियो।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले यस निर्णय कार्यान्वयनका लागि निरन्तर पहल गरेको थियो। २६ फेब्रुअरी २०२६ मा कोलकाता भन्सारले सूचना जारी गरी जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाली भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानीको प्रक्रियागत व्यवस्था मिलाएको थियो।

सोही व्यवस्थाअनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा सुरु भएको हो। नेपाली महावाणिज्य दूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरे।

पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ।

यो सेवा पूर्ण सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकै पटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। सडक ढुवानीको तुलनामा रेल सेवा सुरक्षित, भरपर्दो, कम लागतको तथा छिटो हुने भएकाले आयात व्यापार थप सहज हुने अपेक्षा छ।

यसअघि यस्तो रेल कार्गो सुविधा वीरगञ्ज भन्सारसम्म मात्र सीमित थियो। अब विराटनगरमा सेवा विस्तार भएसँगै पूर्वी नेपालका उद्योग तथा व्यवसायीहरूले प्रत्यक्ष लाभ लिनेछन्। यसले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम हुनेछ। महावाणिज्यदूतावासले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास व्यक्त गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार