एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने प्रष्ट सन्देश दिएका छन्। फागुन २१ गतेको निर्वाचनपछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिए।
ओलीनिकट पदाधिकारीहरू उनको विकल्पको खोजीमा जुटिरहेका बेला केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्टि पोखे। ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो। सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठेरो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर मलाई अध्यक्ष बनाउनु भएको त होइन,’ ओलीले पार्टीका अगुवा नेता–कार्यकर्तालाई भने, ‘कसैलाई आशंका हुन सक्छ । मैले बिचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो ? त्यो आशंका मनमा नलिनु होला।’
अप्ठेरो परिस्थिति सँग जुधेर पार्टीलाई अगाडि बढाउने र सफलतामा पुर्याएर विश्राम लिने ओलीले बताए। ‘पार्टीलाई, आन्दोलनलाई, देशलाई चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ,’ उनले भने।
सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतबाहेकका अधिकांश नेताहरूले बदलिएको समयअनुकूल पार्टी निर्माणका लागि ओलीले विश्राम लिनुपर्ने तर्क गरेका थिए। ओलीका विश्वासपात्र महासचिव शंकर पोखरलसमेत उनको विकल्पका पक्षमा उभिएका थिए। पोखरेलले पार्टीमाथि निरन्तर प्रहार भइरहेका बेला ओली अध्यक्ष नहुँदा त्यो प्रहार कम हुन्छ कि भन्ने आसयका साथ धारणा राखेको निकटहरूको दाबी छ। ‘महासचिवले अध्यक्षलाई बिदा गरेर जानुपर्छ भन्नुभएको होइन,’ स्रोतले भन्यो, ‘अध्यक्षलाई नै कुनै विकल्प हुन्छ भने ल्याउनुहोस् भन्नुभएको हो।’
निर्वाचनपछि निकटहरू नै विपक्षमा उभिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिएर ओलीले आफूमाथिको प्रहार कम गरेका थिए। पार्टी महाधिवेशनअघि भण्डारीको सदस्यता नवीकरणको विपक्षमा ओली उभिएका थिए। ओलीले बुधबार भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र राष्ट्रपति भएको समयमा सदस्यता निष्क्रिय रहेको बताए। ‘उहाँ ३७ सालको पार्टी सदस्य हो । ३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो,’ ओलीले भने, ‘यो हारजितको प्रश्नै होइन, हरेक कुरामा खोचे थाप्ने, निहुँ खोज्ने यो हुनै हुँदैन।’
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई असत्य, झुट, राष्ट्रघाती संज्ञा दिएका ओलीले राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि रोष प्रकट गरे। ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधानविपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानित राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ ओलीले भने।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने संकेत पनि ओलीले गरे। उनले भने, ‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं । अरु कसैले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर पठाउँदिनँ । जेजे गर्न सक्छ, गरोस्।’
गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई पनि बयान नदिएको ओलीले दाबी गरे।
