नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा आफूलाई राजीनामा दिन दबाब दिने नेताहरूलाई कडा जवाफ फर्काएका छन्। उनले ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न, म सम्झिन्नँ, म यसरी छाड्दिनँ’ भन्दै आफू अध्यक्ष पदबाट नहट्ने अडिग अडान प्रस्तुत गरेका हुन्।
शनिबार जारी रहेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। यो विषयमा शुक्रबारबाट छलफल चलिरहेको छ। शुक्रबार पाँच जना उपाध्यक्षले धारणा राखेका थिए भने शनिबार महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच जना सचिवले आ–आफ्नो धारणा राखेका थिए।
उपमहासचिव योगेश भट्टराईले ओलीलाई खुलेरै मार्गप्रशस्त गर्न आग्रह गरेको स्रोतले जनाएको छ। महासचिव शंकर पोखरेलले पनि अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने भन्दै घुमाउरो शैलीमा पार्टी पुनर्गठनको संकेत दिएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार, ओलीले बीचबीचमा नेताहरूलाई रोकेर ‘दिशानिर्देश’ गर्ने काम गरेका थिए।
नेताहरूबाट निरन्तर पार्टी रूपान्तरण र राजीनामाको दबाब बढेपछि ओलीले आफू त्यस्तो मनस्थितिमा नरहेको स्पष्ट पारेका हुन्। उनले आफू केन्द्रीय कमिटीमा बलियो रहेको तर्क गर्दै यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर निर्णय गरिने बताएका छन्।
शनिबारको बैठकमा सचिव महेश बस्नेतले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। उनले ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञा दिएको पनि बुझिएको छ।
अब चार जना सचिवले बैठकमा आफ्नो धारणा राख्न बाँकी छ। उनीहरूको धारणापछि पार्टीको आगामी कदमबारे आवश्यक निर्णय हुने नेताहरूले बताएका छन्।
