कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीलाई नियमविपरीत दिइँदै आएको सित्तैको दूध र घिउ सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन्। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले कर्मचारीले दैनिक दूध र मासिक घिउ सित्तैमा पाउने गुनासो आएको बताइन्।
मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक करिब ७८ लाख रुपैयाँ जोगिने उनको सचिवालयले जनाएको छ। ‘संस्थान घाटामा छ। किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन,’ मन्त्री चौधरीले भनिन्।
कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।
