लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार आठौँ अधिवेशनको बैठक भदौ १ गते सोमबार दिउँसो १ बजे बस्नेछ। बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन्।
प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ। नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोडेर सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।
केन्द्रको सत्ता समीकरण अनुसार लुम्बिनीमा पनि एमालेसहितका दलहरूले आचार्य नेतृत्वको सरकारलाई समर्थन गर्ने तयारी गरेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेको बुझिएको छ। यी दलहरूको समर्थन कायम रहेमा मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिएको छ।
