मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेसका ५ मन्त्रीद्वारा सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने सहमति भएपछि कांग्रेस बाहिरिएको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा सरोज थापा, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, जन्मजय तिमिल्सेना र देवकरण कलवार छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
लुम्बिनी प्रदेश सरकार
Share:
१७७

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।

नयाँ राजनीतिक समीकरण बनेसँगै मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएको सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले जानकारी दिए।

राजीनामा बुझाउने मन्त्रीहरूमा थापाका साथै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार रहेका छन्।

दलका नेता डिल्लीबहादुर चौधरीमार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाइएको हो।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा सत्ता साझेदारी गर्ने विषयमा तीनबुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरण परिवर्तन हुने भएको छ।

हालका मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य हुन्। नयाँ सहमति अनुसार मुख्यमन्त्री एमालेले लिने उल्लेख छ। आचार्यले निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री नियुक्त हुने भन्ने निर्णय हुन बाँकी छ। पूर्वमुख्यमन्त्री लीला गिरी र भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी रहेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार