लामो खडेरीपछि दुई दिनको अविरल वर्षाले सर्लाहीसहित मधेश प्रदेशमा धान रोपाइँले तीव्रता पाएको छ।
आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि यो वर्षा ठूलो राहत बनेको छ। यसले रोपिसकिएको धानको वृद्धि र गाँज हाल्ने प्रक्रियामा समेत सहयोग पुग्ने किसानहरू बताउँछन्।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार अघिल्लो सातासम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको थियो। निरन्तर वर्षा सुरु भएसँगै अब अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न हुने अनुमान छ।
सर्लाहीमा यस वर्ष करिब ४२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। पर्याप्त वर्षाले बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमती लगायतका खोलामा पानीको बहाव बढेको छ।
केही दिनअघिसम्म सुक्खा रहेका खोला, नहर र कुलोमा समेत पर्याप्त पानी बगेको छ। यसले तत्कालका लागि सिँचाइको समस्या हटेको छ। किसानहरू अनुकूल मौसमको फाइदा उठाउँदै धान रोपाइँलाई तीव्रता दिइरहेका छन्।
कृषि क्षेत्रका निकायहरूले अब केही दिन मौसम अनुकूल रहे मधेश प्रदेशमा धान रोपाइँले उल्लेखनीय गति लिने अपेक्षा गरेका छन्।
