विशेष अदालतले घुस लिएको अभियोगमा मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ । अदालतले उनलाई ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवानाको समेत आदेश दिएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले गत जेठ ४ गते कुशवाहालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गरेको थियो । आजको फैसलाले उनलाई ४ वर्ष कैद र ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जरिवाना तोकेको हो ।
कुशवाहाले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत कुल ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ प्राप्त गरेको पुष्टि भएको छ । अदालतले उक्त रकमलाई नै भ्रष्टाचारको विगो मानेको छ ।
तत्कालीन प्रदेशसभा सदस्य कुशवाहाले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर छ । भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय समेत सुनाइएको छ ।
विशेष अदालतले कुशवाहाबाट घुसस्वरूप प्राप्त ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गरी असुलउपर गर्न आदेश दिएको छ । अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहाविरुद्ध उपभोक्ता समितिबाट कमिशन तथा घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले आरोप पुष्टि भएपछि दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
