NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेश प्रदेशमा सत्ता समीकरण फेरियो: जसपा-जनमत बाहिर, कांग्रेस-एमाले-नेकपा भित्र

मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सरकारबाट बाहिरिएसँगै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले नयाँ गठबन्धन बनाएका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 11:34 am १ मिनेट पढाइ
आकार:
मधेश प्रदेश सत्ता समीकरण
Share:

मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सरकारबाट बाहिरिएसँगै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले नयाँ गठबन्धन बनाएका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव यथावत रहे पनि मन्त्रिपरिषद् हेरफेर भएको छ। यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरी एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन्। जनमत पार्टीका दुई मन्त्रीले यसअघि नै राजीनामा दिएका थिए।

जनमतबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए। जसपाका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई बर्खास्त गरिएको छ।

केन्द्रको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णयबमोजिम मधेश प्रदेशमा मधेस केन्द्रित दलहरूलाई बाहिर राखेर नयाँ सरकार गठन भएको हो।

मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिने प्रयास भएको थियो। आफ्नै पार्टी कांग्रेसभित्रको असन्तुष्टि र जसपाले विश्वासको मत नदिने निर्णयले यादव पछि हटेका थिए।

नयाँ तीन दलीय गठबन्धनलाई मधेश प्रदेशमा स्पष्ट बहुमत प्राप्त हुने देखिन्छ। १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सिट आवश्यक पर्छ। लोसपा–जसपा नेपाल एकीकरणपछि २६ सिटमा छ, जसमध्ये दुई सांसद निलम्बनमा छन्।

नयाँ गठबन्धनमा एमालेको २४, कांग्रेसको २२ र नेकपाको १५ सिट गरी कुल ६१ सिट पुग्छ। जनमत पार्टीसँग १२ सिट छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक-एक सिट छ।

नयाँ सत्ता गठबन्धनसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ कार्यविभाजन अनुसार अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास, खेलकुद तथा समाज कल्याण मन्त्रालय मुख्यमन्त्रीले आफूसँगै राखेका छन्।

जङ्गीलाल राय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहरलाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्री महम्मद समिरले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार