मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक निर्माणमा चरम ढिलाइले यात्रु र स्थानीयबासी हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्न बाध्य छन्।
राष्ट्रिय गौरवको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा मालढुङ्गादेखि पूर्वी रुकुमको पातीहाल्नेसम्म करिब १४० किलोमिटर सडक पर्छ। यस आयोजनामा आर्थिक वर्ष २०६५/०६६ मा बजेट विनियोजन भएको थियो।
बागलुङ-बिहुँ र बिहुँ-घोडाबाँधे खण्डमा निर्माण व्यवसायीको चरम लापरबाहीले काम सम्पन्न भएको छैन। काठेखोला गाउँपालिका-५ बिहुँका भरतप्रसाद सापकोटाका अनुसार धुलोले घरको खाना र दाल तरकारीमा समेत तर लाग्छ। ‘हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती छ,’ उनले भने, ‘ठेकेदारको बदमासीले स्थानीय समस्यामा परेका छौं।’ धुलोले गाईवस्तुको घाँस, अन्नबाली र फलफूल समेत बिग्रने गरेको छ।
बिहुँ-घोडाबाँधे खण्डको १२ किलोमिटर सडक २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसि जेभीले दुई वर्षमा कालोपत्रे गर्ने ठेक्का लिएको थियो। आठ वर्षपछि आयोजना कार्यालय पर्वतले ठेक्का तोडेर नयाँ ठेक्का लगाएको थियो। २०८१ असार २१ गते दुई वर्षभित्र काम सक्ने गरी तामाङ/रजिल भगवती जेभीले ठेक्का लिएको भए पनि असार मसान्तमा म्याद सकिँदैछ। सडकको अवस्था अझै उस्तै छ।
स्थानीय युवा कृष्ण कँडेलका अनुसार नयाँ ठेकेदारले पनि काममा जाँगर देखाएको छैन। ‘१०/१५ जना मजदुरले काम गरे जस्तो मात्रै गरेका छन्,’ उनले भने, ‘घुम्तीमा ढलान र स्टक्चरको काम मात्रै भएको छ। कालोपत्र हुने सम्भावना छैन।’ पहिले कालोपत्र भएका ठाउँमा पनि भत्किएर समस्या छ। सडकका कारण बिरामी हुनेको संख्या बढेको छ।
उपल्लाचौरदेखि अक्षेते-बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता गरेको थियो। पाँच पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि गत पुसमा यो खण्डको ठेक्का पनि तोडियो। निर्माण कम्पनीले अदालतमा मुद्दा दायर गरेको छ।
काठेखोला गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृहस्पति शर्मा कँडेलले माथिल्लो खण्डको नयाँ ठेकेदारले पनि विभिन्न बहानामा ढिलाइ गरेको बताए। ‘निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि जस्ता कारण देखाएर म्याद थप्ने प्रयास भइरहेको छ,’ उनले भने।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख अनुक्षा घिमिरेले माथिल्लो खण्डमा ५२ प्रतिशत काम भएको बताइन्। ‘स्टक्चरको काम सकिएको छ,’ उनले भनिन्, ‘तल्लो खण्डको ठेक्का तोडिएर अदालतमा मुद्दा परेकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन।’
बागलुङकै बिहुँ-गलकोट खण्डमा पहिले निर्माण सम्पन्न भएर पनि भत्किएका ठाउँमा पुनःनिर्माण सुरु भएको छ। यो खण्ड आगामी वर्ष सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिनेछ।
पाँचथर चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २४ जिल्ला र २२५ बस्तीलाई सडक सञ्जालमा जोड्नेछ। सरकारले १० नयाँ सहरी आयोजना पनि अघि बढाएको छ।
