महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब दुई करोड ४० लाख रुपैयाँ मूल्य बराबरको १२ सय थान एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ।
शनिबार बिहान गस्तीमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीलाई देख्नासाथ सामान बोकेर ल्याउने व्यक्तिहरू फरार भएका थिए। बरामद गरिएको एयरपोड्सलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।
