NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा

• इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। • यो निर्णय संविधान प्रदत्त भाषा र संस्कृतिको हकको कार्यान्वयन हो। • लिम्बू भाषा सरकारी कामकाजमा प्रयोग गर्ने ७५३ स्थानीय तहमध्ये माङसेबुङ पहिलो बनेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 May 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
Share:

इलामको माङसेबुङ गाउँपालिकाले मङ्गलबारदेखि ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। ६६औँ कार्यपालिका बैठकले २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको हो।

संविधानको धारा ३, ६, ७ (२) तथा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम गाउँपालिकाले यो अधिकार प्रयोग गरेको हो। यससँगै माङसेबुङ ७५३ स्थानीय तहमध्ये लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने पहिलो पालिका बनेको छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई कामकाजको भाषाका रूपमा लागू भएको घोषणापत्र वाचन गरी औपचारिक कार्यान्वयनको सुरुवात गरे। अध्यक्ष राईका अनुसार यस पालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजमा प्रयोग गरिनेछ।

भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारसम्बन्धी सम्झौतापत्रमा नेपाली र लिम्बू भाषा तथा किरात सिरिजङ्गा लिपिमा हस्ताक्षर भएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरेका छन्।

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले यसलाई ऐतिहासिक कदम भन्दै यसले मातृभाषी समुदायलाई उत्साहित बनाएको बताए। किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले यो निर्णय समग्र मातृभाषी समुदायका लागि खुसीको खबर भएको प्रतिक्रिया दिए।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार माङसेबुङको १६ हजार ८१० जनसङ्ख्यामा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ। यसअघि २०७५ साल मङ्सिर १३ गतेदेखि वडा नं ५ को कार्यालयमा लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरिएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार