NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजको भाषा

इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। संविधान र स्थानीय ऐनको अधिकार प्रयोग गरी यो निर्णय गरिएको हो। लिम्बू भाषालाई कामकाजी भाषा बनाउने माङसेबुङ पहिलो स्थानीय तह बनेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 May 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
माङसेबुङ लिम्बू भाषा
Share:

इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको छ। २०८३ वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकले गरेको निर्णयअनुसार मंगलबारदेखि यो भाषा कार्यान्वयनमा आएको हो।

संविधानको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै गाउँपालिकाले यो कदम चालेको हो। कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरिएको घोषणा वाचन गरेका थिए।

बहुसङ्ख्यक लिम्बू समुदायले बोल्ने यो भाषा किरात सिरिजङ्गा लिपिमा लेखिनेछ। घोषणापछि गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच लिम्बू भाषा र लिपिमै एक सम्झौतापत्र तयार गरी हस्ताक्षर गरिएको छ। सम्झौतामा निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरेका छन्।

उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ स्थानीय तहमध्ये लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गर्ने माङसेबुङ पहिलो गाउँपालिका भएको दाबी गरेका छन्। यस निर्णयले मातृभाषा संरक्षणका लागि महत्वपूर्ण कदम भएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले बताएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार माङसेबुङ गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८१० छ, जसमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार