काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि मनहरा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। स्थानीयको अवरोध र झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुरक्षा व्यवस्था कडा पारियो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि महानगरपालिकाले नदी किनारका अवैध संरचना हटाउन थालेको हो। शनिबार बस्ती हटाउन पुगेको महानगरको टोलीलाई स्थानीयले ढुंगामुढा गरेपछि झडप भएको थियो। उक्त झडपमा केही सुरक्षाकर्मी घाइते भएका थिए। त्यसपछि आज बलियो सुरक्षा घेरामा डोजर चलाइएको छ।
यस पटकको हटाउने अभियानलाई व्यवस्थित बनाउन करिब १,९०० सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी बलका सदस्य छन्। स्थानीयको अवरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो।
वृद्धवृद्धा र बिरामीलाई सुरक्षित स्थानमा सारियो
बस्ती हटाउने क्रममा केही वृद्धवृद्धा र बिरामीलाई प्रहरीले सुरक्षित स्थानमा सारिरहेको छ। एक महिलालाई भने स्ट्रेचरमा राखेर प्रहरीले सुरक्षित स्थानमा पुर्याएको दृश्य देखिन्थ्यो। महानगरपालिकाले बस्ती खाली गराउनुअघि स्थानीयलाई ९ बजेसम्मको समयसीमा दिएको थियो।
यो अभियान नदी किनारका सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउने सरकारको बृहत् अभियानको एक हिस्सा हो। यसअघि पनि महानगरपालिकाले विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको थियो, तर स्थानीयको अवरोधका कारण सफल हुन सकेको थिएन।