NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्यानपावर बन्द: वैदेशिक रोजगारीमा जाने श्रमिकको उडान ठप्प

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशभरका म्यानपावर बन्द गर्ने घोषणा गरेको छ। यससँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको उडानसमेत पूर्ण रूपमा रोकिने भएको छ। श्रम मन्त्रालयसँग भएको छलफलमा ठोस सहमति नभएपछि सङ्घले काम ठप्प पार्ने निर्णय गरेको हो।
Sunita Rai
Sunita Rai
17 August 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
म्यानपावर बन्द
Share:

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागहरूप्रति सरकारको उदासीनताका कारण सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेको छ। यससँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको उडानसमेत पूर्ण रूपमा रोकिने भएको छ।

सङ्घले यसअघि चरणबद्ध आन्दोलनका क्रममा पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि सम्पूर्ण काम-कारोबार ठप्प पार्न लागिएको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकको उडानका लागि एक साताअघि नै सर्कुलर जारी गरिएको बताए। उनले १२ बजेसम्म प्रक्रिया पूरा भएकाहरूको उडान सम्पन्न भएको र त्यसपछि सबै उडान रोकिने जानकारी दिए।

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे कुनै ठोस सहमति हुन सकेन। सङ्घको आरोप छ कि मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता भएन। सरकारले समस्यालाई प्राथमिकतामा नराखेको व्यवसायीहरूको भनाइ छ।

सोमबारदेखि काठमाण्डुस्थित मुख्य कार्यालय, देशभरका शाखा कार्यालय, नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी एवम् प्रशासनिक काम-कारोबार पूर्ण रूपमा बन्द हुनेछन्।

सङ्घले वार्ताका लागि ढोका खुला रहेको बताए पनि सरकारबाट ठोस कदम नआएसम्म काममा नफर्कने अडान लिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार