NM Khabar 23 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङका क्रसर: अनुमति एउटा, काम अर्कै; २ बन्द, १ जरिवाना

मोरङका दुई क्रसर उद्योग अनुमति विपरीत काम गरेको भन्दै बन्द गरिएका छन्। बेलबारीको कान्तिपुर वासिङ प्रालिलाई बालुवा प्रशोधनको अनुमतिमा क्रसिङ गरेको भन्दै ५० हजार जरिवाना गरिएको छ। लेटाङको महाभगवती क्रसिङ र मिक्लाजुङको देवीथान कङ्क्रिट उद्योग दर्ता वा उद्देश्य विपरीत काम गरेको पाइएपछि बन्द गरिएका छन्।
Arjun Basnet
Arjun Basnet
22 May 2026, 2:02 pm १ मिनेट पढाइ
आकार:
Share:

बेलबारीको कान्तिपुर वासिङ प्रालिले बालुवा प्रशोधनको अनुमति लिएर गिट्टी कुट्ने (क्रसिङ) काम गरेको पाइएको छ। जिल्ला अनुगमन समितिले गत चैत ३० गते उद्योग बन्द गराएर ५० हजार रुपैयाँ जरिवाना गरेको थियो। औद्योगिक व्यवसायिक ऐन अनुसार जरिवानापछि बालुवा वासिङका लागि मात्र सञ्चालन अनुमति दिइएको छ। तर, उद्योगले अनुमति बिना क्रसिङ गरी ढुंगागिटी उत्खनन र बिक्री गरेको पाइएपछि आन्तरिक राजस्व कार्यालयलाई छानविनका लागि पत्र लेखिएको छ।

लेटाङमा सञ्चालित महाभगवती क्रसिङ प्रालि दर्ता बिना सञ्चालनमा रहेको भेटिएको छ। अनुगमनका क्रममा यो उद्योगले ठूलो परिणाममा ढुंगागिटी निकालेर बिक्री गरेको पाइएको थियो।

मिक्लाजुङको देवीथान कङ्क्रिट उद्योगले पनि अनुमति विपरीत क्रसिङ गरेको पाइएको छ। वैशाख २३ गतेको स्थलगत अनुगमनमा उद्योगको उद्देश्य विपरीत कार्य भएको भेटिएपछि सिल गरिएको हो। यो उद्योगले बालुवा प्रशोधन, ह्युमपाइप, बिजुलीको पोल निर्माण र इटा बनाउने अनुमति लिएको थियो। तर, ढुंगागिटी उत्खनन गरेको भेटिएपछि कारबाही गरिएको हो। प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खनन गरेको पाइएको थियो। कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता नभए पनि ढुंगागिटी प्रालिको नाममा बिल काटेर बिक्री गरेको भेटिएको छ।

यसैबीच, लोहन्द्रा खोलाको ग्रामथान क्षेत्रमा गिटी बालुवा उत्खननका लागि मेसिन प्रयोगमा रोक लगाइएको छ। अनुमति नलिइ जथाभावी उत्खनन भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मेसिन प्रयोगमा रोक लगाउन निर्देशन दिएका हुन्। पत्रकारमाथि दुर्व्यवहारको घटना बाहिर आएपछि जिल्ला अनुगमन समितिले तत्काल मेसिन प्रयोगमा रोक लगाउँदै अनुगमन समिति गठन गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार