NM Khabar 15 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुस्ताङमा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ। कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेको यस सम्मेलनमा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका दुई हजार बढी जनप्रतिनिधि सहभागी भएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 September 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
जलवायु सम्मेलन मुस्ताङ
Share:

मुस्ताङमा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ आजदेखि सुरु भएको छ। कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गरिन्।

सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ पुगेका छन्।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन व्यवस्थापनका लागि पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र सङ्घसस्था परिचालन गरिएको बताइन्। अतिथिका लागि बिहानको खाजा सम्मेलनस्थलमै आमा समूहले व्यवस्थापन गर्नेछ। बेलुकीको खाना र बसोबासको प्रबन्ध गाउँपालिकाले तोकेका होटलमा मिलाइएको छ।

गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गाले सजाइएको छ। सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ। आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। खानेपानी, इन्टरनेट र विद्युत् सेवा सहज बनाइएको छ। सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई पनि सहज पारिएको छ।

जोमसोम कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए। सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको आकृति राखिएको छ।

मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले पचासभन्दा बढी स्टल राखिएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार