NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नागढुङ्गा–मुग्लिङ सडक विस्तार ठप्प: कुलमान घिसिङको ध्यानाकर्षण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा–मुग्लिङ सडक विस्तार कार्य ठप्प भएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। निर्माण सामग्री अभाव र मूल्यवृद्धिलाई काम रोकिनुको मुख्य कारण बताइएको छ। घिसिङले सरकारलाई तत्काल निर्माण कार्य सुचारु गर्न र व्यवसायीका जायज माग सम्बोधन गर्न आग्रह गरे।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 May 2026, 8:47 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौँ उपत्यकाको मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार ठप्प भएकोमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हजारौँ यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

निर्माण सामग्री अभाव र मूल्यवृद्धिको बहानामा काम रोकिनु अत्यन्तै चिन्ताजनक भएको उनको ठहर छ। घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा निर्माण कार्यले तीव्रता लिएको स्मरण गराए।

वर्षायाम नजिकिँदै गर्दा सडकको काम रोकिँदा परिस्थिति थप गम्भीर बन्ने चेतावनी उनले दिए। घिसिङले भने, ‘दैनिक करिब १५ हजार सवारी साधन आवतजावत गर्ने यस सडकमा ढिलाइ हुँदा दुर्घटनाको जोखिम, लामो जाम, आर्थिक क्षति र जनसाधारणको दुःख झन् बढ्ने निश्चित छ।’

यो सडक राजधानीको आपूर्ति व्यवस्था, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोडिएको संवेदनशील सवाल भएको घिसिङले बताए। उनले निर्माण कार्य तत्काल सुचारु गरी प्रभावकारी ढङ्गले अघि बढाउन सम्बन्धित निकायसँग माग गरे।

सरकारले निर्माण व्यवसायीका जायज माग सम्बोधन गरेर कामलाई गति दिनुपर्नेमा उनले जोड दिए। घिसिङले भने, ‘निर्माण कार्य तत्काल सुचारु गरी प्रभावकारी ढङ्गले अघि बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु र सरकारले निर्माण व्यवसायीको जायज मागलाई सम्बोधन गराउन समेत अनुरोध गर्दछु।’

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार