महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ ।
बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुग्दा सरसफाइ अत्यन्त कमजोर भेटिएको थियो । शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो थियो । भवनभित्र पानी जमेको थियो । विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको थियो ।
यो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले यसअघि पनि संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन र बालबालिकाको बसोबास व्यवस्थित बनाउन पटक–पटक निर्देशन दिएको थियो । सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो ।
तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नआएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धार प्रक्रिया अघि बढाएको हो ।
स्थानीय सरोकारवाला, विभिन्न व्यक्ति र बालगृहका केही कर्मचारीबाट प्राप्त भिडियोहरूमा भवनभित्र पानी जमेको, सरसफाइ दयनीय र महामारी फैलिन सक्ने जोखिम देखिएको थियो । केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।
यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । उद्धार गरिएकामध्ये १२ बालक र ८ बालिका छन् ।
उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, हेरचाह र पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया र कानुनी कार्य अघि बढाइसकेको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइनेछ ।
