पार्टी एकताको सात महिना नपुग्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाललाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै शीर्ष नेतृत्वको वैचारिक विचलन र नैतिक पतनमाथि गम्भीर प्रश्न उठाएका छन्। खनालले पठाएको पत्रमा सह-संयोजक माधवकुमार नेपालको कार्यशैलीप्रति पनि गम्भीर असन्तुष्टि पोखेका छन्।
करिब ६ दशक कम्युनिष्ट आन्दोलनमा सक्रिय आफूलाई जिम्मेवारीविहीन बनाएर अपमान गरिएको खनालको दाबी छ। उनले नेतृत्वको नियतमाथि प्रश्नचिह्न खडा गर्दै यो सुनियोजित व्यवहार भएको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले दाहालमाथि पार्टी एकतापूर्वका वैचारिक सहमति तोडेको आरोप लगाएका छन्। दाहाल मार्क्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादको समझदारीबाट पछि हटेको उनको भनाइ छ।
खनालले प्रचण्ड माधव नेपालको दबाबमा परी राजनीतिक अडानबाट विचलित भएको आरोप लगाएका छन्। पत्रमा माधव नेपालमाथि तीखा टिप्पणी गरिएका छन्। खनालले नेपालमाथि पार्टीभित्र गुटबन्दी, योग्य नेतामाथि पूर्वाग्रह र असहमतलाई पाखा लगाउने प्रवृत्ति मौलाएको आरोप लगाए।
भ्रष्टाचार मुद्दा खेपिरहेका र नैतिक प्रश्नको घेरामा परेका माधव नेपाललाई सहसंयोजक बनाइनु नेतृत्वको नैतिक पतन भएको खनालले टिप्पणी गरे। उनले एमाले विभाजनदेखि साविक नेकपा विघटनसम्मका निर्णयलाई आत्मघाती राजनीतिक गल्ती भनेका छन्। पार्टीमा बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवाद प्रवेश गराएर कम्युनिष्ट आन्दोलन कमजोर बनाइएको उनको आरोप छ।
खनालले पार्टीभित्र आफूलाई खोरभित्र जस्तै बन्दी बनाइएको अनुभूति भइरहेको उल्लेख गरेका छन्। उनले वैचारिक स्पष्टता र नैतिकता गुमाएको नेतृत्वबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण असम्भव रहेको चेतावनी दिए। पार्टीको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’ भन्दै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नबन्ने उनको दाबी छ।
नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै खनालले भनेका छन्, “पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको छ।” उनले थपे, “नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको छ।” खनालको असन्तुष्टि पत्रमा भनिएको छ, “तपाईं आफैँमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ।”
पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि सङ्गठनात्मक एकीकरण पुरा नभएको खनालले औँल्याए। निर्वाचनमा पार्टीले अपेक्षा विपरीत ‘शर्मनाक पराजय’ भोगेको उनको भनाइ छ। बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप पनि खनालले लगाएका छन्।
खनालले २०७५ जेठ ३ मा एमाले र माओवादी एकता गर्दा केपी ओली र प्रचण्डले निर्वाचन आयोगमा पार्टी दर्ता नगरेको बताए। उनले ओली र प्रचण्डलाई एकीकृत नेकपा रुपी विशाल जेटको ‘दुई पाइलट’ घोषित भएको स्मरण गराए। तर, उनीहरूले निर्वाचन आयोगमा वैधानिक रूपले पार्टी दर्ता गर्नुपर्नेमा त्यसो नगरेको खनालको आरोप छ।
उनीहरूले दर्ता भइसकेको पार्टीको नाममा नेकपा दर्ता गराएको स्मरण गराउँदै यसलाई ‘आत्मघाती गल्ती’ भनेका छन्। निर्वाचन आयोगले त्यसो नगरौँ भन्दाभन्दै जबरजस्त दर्ता भएको र त्यसको मुख्य दोष ओली र प्रचण्डलाई लाग्ने खनालले पत्रमा उल्लेख गरेका छन्। उनले सानो कमजोरीले सिङ्गो संरचना र उपलब्धि नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन्।
यस्तो पृष्ठभूमिमा खनालले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई राजीनामा गरी विशेष बैठकबाट नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न माग गरेका छन्।
