NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभरका विभिन्न स्थानबाट २६ जना लागुऔषधसहित पक्राउ

पछिल्लो २४ घण्टामा देशभर २६ जना लागुऔषधसहित पक्राउ परेका छन्। काठमाडौं, मोरङ, रुपन्देही, झापा, कैलाली, सुनसरी, धनकुटा र मकवानपुरबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल, स्पास्पेन र स्पास्मो ट्याब्लेट बरामद भएको छ।
Sanjay Karki
Sanjay Karki
16 May 2026, 7:05 pm १ मिनेट पढाइ
आकार:
Share:

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर २६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंलगायत विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट १२ ग्राम ६ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनिल केसी (२३), बसन्त तिमल्सिना (४४), बिक्रम ठकुरी (३७), प्रज्वल मैनाली (२५), देबेन्द्र अर्याल (३५), प्रशान्त राई (५०) र पेम्बा तामाङ (४७) रहेका छन्।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशल चोकबाट २४ वर्षीय सुशन राईलाई २ हजार २१० ट्याब्लेट ट्रामाडोल र २ हजार ३२० ट्याब्लेट स्पास्पेनसहित शुक्रबार राति पक्राउ गरिएको छ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीबाट ३३ वर्षीय बर्कत अलीलाई ४ सय ८० ट्याब्लेट स्पास्मोसहित नियन्त्रणमा लिइएको छ। झापाको कनकाई नगरपालिका–५ चाप्रमारीबाट ११ ग्राम ९७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित जीतबहादुर लिम्बु (२६) र प्रदीप रसाइली (२०) पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ स्थित आर बी होटलबाट १ सय २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित होटल सञ्चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का ३६ वर्षीय तिलकबहादुर वलीसहित चार जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट १९ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। सोही स्थानबाट ३ ग्राम ६६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १ सय ८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट ३ सय ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मादेनमा डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई करिब ९२ किलो लागुऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३१० ग्राम गाँजासहित ६० वर्षीय लक्चन हजरा पक्राउ परेका छन्। पर्साको बिन्दबासिनी गाउँपालिका–४ मधुवनका हजरालाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार