नेपाल र भारतबीच सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो।
सीमासम्बन्धी प्राविधिक विषयमा नियमित बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न र सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा छ। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजनाबारे छलफल भएको थियो।
नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले सीमास्तम्भको मर्मत र पुनःनिर्माण द्विपक्षीय समझदारीअनुसार अघि बढेको बताए। फिल्डमा खटिएका संयुक्त प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने अभ्यास जारी छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको सर्भे बैठक बिर्तामोडमा सम्पन्न भएको जानकारी दिए। सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं र अञ्जन न्यौपाने, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी र प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी थिए।
त्यसैगरी, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक कुलदीप चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल, डिभिजन वन अधिकृत राजकुमार खत्री, सहायक अनुसन्धान अधिकृत सुशान्त बराल र सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेल सहभागी थिए।
ताप्लेजुङबाट सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, प्रहरी नायब उपरीक्षक उमेश जोशी र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक सहभागी थिए।
भारतीय पक्षबाट विहार राज्यको किशनगन्ज जिल्लाका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ विशालराज, सशस्त्र सीमा बल (एसएसबी) का १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, ३६औँ बटालियनका कमान्डेन्ट सञ्जीव कुमार, उपकमान्डेन्ट अभिजित दास, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी तथा सर्वेक्षक अधिकृत सन्तोष प्रसाद र हिमाद्री शेखर चक्रवर्तीलगायत अधिकारी सहभागी थिए।
नेपाल र भारतबीच सीमासम्बन्धी प्राविधिक विषयमा समयसमयमा संयुक्त बैठक आयोजना हुने गरेका छन्। सीमास्तम्भको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउँदै सीमावर्ती क्षेत्रमा पारस्परिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले बैठकले आगामी कार्ययोजनासमेत तय गरेको छ।
