देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास छ।
आज दिउँसो देशभर बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
वर्षापछि ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना छ।
