नेपालमा हुने कुल मृत्युमध्ये झन्डै ७१ प्रतिशत नसर्ने रोगका कारणले भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म यो दर ७९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नसर्ने रोगले कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगट्नुका साथै ३० देखि ७० वर्ष उमेर समूहका झन्डै २२ प्रतिशत मानिसको अकाल मृत्यु गराइरहेको छ।
उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वासप्रश्वाससम्बन्धी रोगहरू मृत्युका प्रमुख कारण बन्दै गएका छन्। यस गम्भीर समस्याको समाधानका लागि नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागको सहकार्यमा ‘पेन–डी प्याकेज’ नामक कार्यढाँचा विकास गरेको छ।
यो प्याकेजले भूकम्प, बाढी वा पहिरोजस्ता विपद्का समयमा समेत नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। यसमा उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्वभण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्यकर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
हाल यो ‘पेन–डी प्याकेज’ कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा परीक्षणका रूपमा लागू गरिएको छ। स्वास्थ्य विशेषज्ञहरूले यस प्याकेजलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समाहित गरी देशैभरका सबै स्थानीय तहमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
आयुर्वेदले दिनचर्या (ब्रह्म मुहूर्तमा उठ्ने, नियमित योग, समयमा सुत्ने, सरसफाइ) र ऋतुचर्या (मौसमअनुसार खानपान) मार्फत नसर्ने रोगको जोखिम कम गर्न मद्दत गर्छ।
