देशभरि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। यसले केही दिनदेखि अत्यधिक गर्मी खेपिरहेका तराई र पहाडी क्षेत्रका नागरिकलाई ठूलो राहत दिएको छ।
पश्चिम तराईमा गर्मी घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली सोमबारसम्म सक्रिय रहनेछ। अबको तीन/चार दिन देशभर शीतल महसुस हुने सम्भावना छ। यसको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र मधेशमा देखिनेछ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ। मधेश, कोशी र वाग्मती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनायो।
मौसमविद् विनोद पोखरेलका अनुसार आज केही भागमा भारी वर्षाको रिपोर्ट छ। दिउँसो थप वर्षा हुने अनुमान छ। राति फेरि केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना बलियो छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सफा हुने देखिँदैन। राति सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, वाग्मती, गण्डकी र कोशीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा हुनेछ। मधेश, कोशी, वाग्मती र गण्डकीका तराई भूभागका एक-दुई स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
