नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै आएको पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षले मङ्गलबार (१७ चैत) काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा समानान्तर केन्द्रीय कार्यसमितिको बैठक सुरु गरेको छ।
बैठकको अध्यक्षता कार्यवाहक सभापतिको दाबी गर्दै आएका नेता पूर्णबहादुर खड्काले गरेका छन्। उनले आफ्नो दायाँ र बायाँतर्फ नेताद्वय शेखर कोइराला र शशांक कोइरालालाई राखेर बैठक सञ्चालन गरेका थिए। यस भेलामा गत माघको विशेष महाधिवेशनबाट विघटन गरिएको १४औं महाधिवेशनका करिब ६४ जना केन्द्रीय सदस्य र केही प्रदेश सभापतिहरूको उपस्थिति रहेको छ।
बैठकको मुख्य उद्देश्य भर्खरै सम्पन्न संसदीय निर्वाचनको नतिजाको समीक्षा गर्नु र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नु रहेको छ। साथै, निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई दिएको वैधानिकता खारेज गर्न माग गर्दै यस समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि चैत २२ गते हुने सुनुवाइको रणनीतिका विषयमा पनि गहन छलफल भइरहेको छ।
गत माघमा भएको विशेष महाधिवेशनपछि कांग्रेस दुई चिरामा विभक्त भएको छ। एकातिर गगन थापा नेतृत्वको आधिकारिक ‘संस्थापन’ पक्ष छ भने अर्कोतिर शेरबहादुर देउवा (हाल उपचारका क्रममा विदेशमा रहेका), पूर्णबहादुर खड्का र कोइराला परिवारको गठजोड रहेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउ र निर्वाचनको कमजोर नतिजाले दबाबमा रहेको कांग्रेसमा, यसरी खुलमखुला भइरहेका समानान्तर गतिविधिले देशभरका आम कार्यकर्तामा गहिरो निराशा र अन्योल सिर्जना गरेको छ।