ताजा अपडेट: श्रीलङ्काका कुशल परेरा जनकपुर बोल्ट्समा आबद्ध, एनपीएल आजदेखि सुरु
प्रधानमन्त्री बालेन शाहले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्दैछन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह उद्घाटनका लागि अपराह्न मैदान पुग्ने कार्यक्रम छ। उनले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिँदै डेभिड वार्नर, आन्द्रे रसेल, डेभिड मिलर, शकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्।
पहिलो पटक डीआरएस, ७० देखि ७५ करोडको कारोबारको अनुमान
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी-२० मान्यता पाएको यस संस्करणमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणमा ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ।
उद्घाटन खेल आज साँझ ५ बजे दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्। केही खेल दिउँसो १२:३० र साँझ ५ बजे गरी डबल हेडरका रूपमा हुनेछन्। उद्घाटन खेलका डिजिटल टिकट आधा घण्टामै बिक्री भइसकेका थिए।
विजेतालाई १ करोड ५० लाख, पाकिस्तानी खेलाडीको अन्योल
एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।
प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ। विजेताले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। पाकिस्तानी खेलाडीको सहभागितालाई लिएर भने अन्योल देखिएको थियो। पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको खबर एनएमखबरले यसअघि नै प्रकाशित गरेको थियो।
सच्याइएको: यो समाचारको पहिलो संस्करणमा उद्घाटन भइसकेको र पुरस्कार रकम गलत (विजेतालाई १५ करोड) लेखिएको थियो। उद्घाटन आज साँझ हुने कार्यक्रम छ र विजेताको पुरस्कार १ करोड ५० लाख रुपैयाँ हो। पुष्टि नभएको बजार मूल्यको अंक हटाइएको छ।
यसअघि: एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा: पीसीबीद्वारा २५ हजार डलर माग