NM Khabar 6 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नुवाकोटमा ५ होल्डिङ सेन्टरको पानीमा ‘ई. कोलाई’ भेटियो, महामारीको उच्च जोखिम

नुवाकोटको विदुर नगरपालिकाका ५ होल्डिङ सेन्टरको पिउने पानीमा ‘ई. कोलाई’ जीवाणु भेटिएको छ। यसले झाडापखाला, हैजा र हेपाटाइटिसजस्ता रोगको महामारी फैलन सक्ने उच्च जोखिम छ। स्वास्थ्यविज्ञहरूले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
Kamala Devi
Kamala Devi
6 September 2026, 8:43 pm १ मिनेट पढाइ
आकार:
Share:

नुवाकोटको विदुर नगरपालिकाका होल्डिङ सेन्टरमा वितरण गरिएको पिउने पानीमा दिसामा पाइने घातक ‘ई. कोलाई’ जीवाणु भेटिएको छ। यसले बाढी प्रभावित विस्थापितहरूमा झाडापखाला, हैजा र हेपाटाइटिसजस्ता संक्रामक रोगको महामारीको उच्च जोखिम निम्त्याएको छ।

जनस्वास्थ्य कार्यालय नुवाकोटले १५ वटा खानेपानीका नमुना परीक्षण गर्दा ५ वटामा ई. कोलाई सङ्क्रमण पुष्टि भएको जनाएको छ। ट्याङ्कर र धाराको पानी दुवै दूषित पाइएको थियो।

कार्यालयका सूचना अधिकारी कृष्ण रिजालका अनुसार त्रिशूली नदीपारिका ४ होल्डिङ सेन्टरमध्ये १ वटा र वारितर्फका ११ वटा सेन्टरमध्ये ४ वटा पानीका मुहानमा ई. कोलाई फेला परेको हो। दूषित स्रोतहरूलाई तत्काल क्लोरिनेसन गरी प्रयोगयोग्य बनाइएको छ। यद्यपि, जोखिम कायमै रहेकाले पानी शुद्धीकरण गरेर मात्र पिउन रिजालले आग्रह गरे।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विपद्को सुरुवाती चरणमा पानीजन्य रोगको प्रकोप तीव्र हुने बताए। बाढी प्रभावित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीहरू संक्रमणको पहिलो जोखिममा पर्ने उनको भनाइ छ। समयमै शव व्यवस्थापन नहुँदा वातावरण प्रदूषित भई हैजाजस्ता महामारी फैलिन सक्ने उनले चेतावनी दिए।

डा. पुनले राहत तथा उद्धारमा खटिने स्वयंसेवकहरूबाटै रोग सर्न सक्ने जोखिम औंल्याए। उनले अनिवार्य मास्क प्रयोग, नियमित हात धुने र व्यवस्थित शौचालय प्रयोग गर्नुपर्नेमा जोड दिए। सरसफाइमा ध्यान नदिए उनीहरू आफैँ रोगका बाहक बन्न सक्ने उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले बाढीको दूषित पानी र फोहोर खानाका कारण हैजा, झाडापखाला, टाइफाइड तथा हेपाटाइटिस ‘ए’ र ‘ई’ जस्ता प्राणघातक रोग फैलन सक्ने बताए।

खुला ठाउँमा बस्नुपर्ने बाध्यताले छालाको सङ्क्रमण र लामखुट्टेजन्य रोगको जोखिमसमेत बढ्ने डा. चालिसेले उल्लेख गरे। उनले प्रभावित क्षेत्रमा साबुनपानीले हात धुने, खानेकुरा ढाकेर राख्ने र पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन सुझाव दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार