ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् सर्ट भएर दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी सुरु भएको थियो।
आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
कोटमाया कार्कीको घरमा अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको छ। ज्ञानकुमारी कार्कीको घरमा अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।
