नेपाल–भारत खुला सीमालाई बन्द गरी भिसा प्रणाली लागू गर्नुपर्ने भनी हालै संसद्मा उठेको प्रस्तावको नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झाले कडा प्रतिवाद गरेका छन्। उनले उक्त प्रस्तावलाई ‘सतही र केवल सस्तो ताली पाउने नियतबाट प्रेरित’ भन्दै सीमा बन्द गर्नुको सट्टा व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा राखेको यो प्रस्तावप्रति टिप्पणी गर्दै डा. झाले सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती र अव्यवस्थालाई देखाएर सिमाना नै बन्द गर्ने कुरा गर्नु ‘रोगको उपचार गर्नुको सट्टा बिरामीलाई नै मारिदिने सोच’ सरह भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. झाले नेपाल र भारतबीचको सम्बन्ध केवल भूगोलमा मात्र सीमित नभई सदियौंदेखिको ‘रोटी–बेटी’ तथा पशुपति–काशीको गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए। उनले यस्तो ऐतिहासिक र जनस्तरको सम्बन्धलाई कुनै भिसाको कागजले छेक्न नसक्ने स्पष्ट पारे।
डा. झाका अनुसार सीमामा हुने तस्करी, अवैध कारोबार र सुरक्षा चुनौती नियन्त्रणका लागि सीमा सिल गर्नुको सट्टा ‘स्मार्ट, प्रविधिमैत्री र सुरक्षित सीमा व्यवस्थापन’ आजको मुख्य आवश्यकता हो।
उनले संसद् र नीतिगत तहमा देशमै उद्योगधन्दा कसरी सञ्चालन गर्ने, स्वदेशमै रोजगारी कसरी सिर्जना गर्ने र १ अर्ब २५ करोडभन्दा बढी जनसंख्या भएको विशाल भारतीय बजारमा नेपाली उत्पादन कसरी पुर्याउने भन्ने विषयमा गम्भीर बहस हुनुपर्ने तर्क प्रस्तुत गरे।
चर्चा र सस्तो लोकप्रियताका लागि उत्तेजक अभिव्यक्ति दिनुभन्दा परिणाममुखी काममा लाग्न आग्रह गर्दै डा. झाले भने, ‘विवाद होइन, विकासको बहस गरौं। खुला सीमा नेपालका लागि कमजोरी होइन, सही व्यवस्थापन गर्न सके ठूलो आर्थिक र सामाजिक अवसर हो।’
