पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा चौकीलाई लक्षित गरी भएको आत्मघाती कार बम आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको छ। पाकिस्तानी सेनाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सुरक्षाकर्मी र आक्रमणकारी दुवै पक्षका व्यक्ति मारिएका छन्।
अफगानिस्तान सीमावर्ती ट्यांक जिल्लामा बिहीबार राति भएको आक्रमणमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक कर्मचारीको ज्यान गएको छ। सेनाका अनुसार आक्रमणमा संलग्न १२ जना लडाकु पनि मारिएका छन्।
आक्रमणकारीहरूले सुरक्षा चौकीमा जबर्जस्ती प्रवेशको प्रयास गर्दा विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीको पर्खालमा ठोक्काएर विस्फोट गराइएको थियो।
सन् २००७ देखि पाकिस्तान सरकारविरुद्ध सशस्त्र संघर्ष गर्दै आएको प्रतिबन्धित संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ। टीटीपीले चार जना आत्मघाती आक्रमणकारी सहभागी भएको दाबी गरेको छ।
घटनापछि सुरक्षाकर्मीहरूले आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेका छन्। यो आक्रमण पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा पछिल्ला महिनाहरूमा भएका लगातारका हिंसात्मक घटनामध्ये पछिल्लो हो। सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तानमा सक्रिय सशस्त्र समूहहरूको गतिविधि तीव्र बनेको छ।
विशेषगरी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलमाथि हुने आक्रमण उल्लेखनीय रूपमा बढेका छन्। गत साता छिमेकी बन्नु जिल्लामा प्रहरीलाई लक्षित आक्रमणमा पनि क्षति भएको थियो। सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार पाकिस्तानमा हिंसात्मक घटनाका कारण मृत्यु हुनेको संख्या सन् २०२४ मा १,६२० पुगेकामा गत वर्ष २,३३१ थियो। पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडिजले सोही अवधिमा देशभर आक्रमण ३४ प्रतिशतले बढेको जनाएको छ।
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध सक्रिय सशस्त्र समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। अफगान तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानभित्रका सुरक्षा समस्या उसको आन्तरिक विषय भएको बताउँछ। दुई देशबीचको तनाव पछिल्ला महिनाहरूमा सैन्य स्तरसम्म पुगेको छ। पाकिस्तानले अफगानिस्तानभित्रका सशस्त्र समूहमाथि पटकपटक हवाई आक्रमण गरेको छ भने अफगान पक्षले पनि प्रतिकार गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षका हवाई कारबाहीमा सयौं अफगान सर्वसाधारणको मृत्यु भएको छ।
युक्रेनको राजधानी किभ नजिक ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र करिब १०० जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी र ड्रोन प्रविधिसम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा १० जनाको ज्यान गएको थियो।
पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्। आक्रमणअघि शुक्रबार साँझ राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र अर्को ठुलो मिसाइल आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।
युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिकको आक्रमणमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। युक्रेनी वायु प्रतिरक्षा प्रणालीले एउटा मात्रै खसाल्न सफल भयो। रुसले आफ्नो रक्षा मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ। मन्त्रालयले रूसभित्रका नागरिक क्षेत्रलाई निशाना बनाउन प्रयोग हुने ड्रोनको प्रदर्शन भइरहेको स्थलमा उच्च सटीकतायुक्त हतियार प्रयोग गरिएको जनाएको छ। त्यहाँ ड्रोन निर्माता, युक्रेनी ड्रोन फोर्सका प्रतिनिधि र रुसविरुद्ध आक्रमणको योजना बनाउने सुरक्षा निकायका अधिकारीहरू उपस्थित रहेको रुसको दाबी छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यस प्रकारको ड्रोन प्रदर्शनीमाथि भएको यो तेस्रो आक्रमण हो। सार्वजनिक रूपमा प्रचारप्रसार गरेर कार्यक्रम आयोजना गरिएको विषयमा युक्रेनभित्रै पनि तीव्र आलोचना भएको छ। महान्यायाधिवक्ताको कार्यालयले प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र सुरक्षा व्यवस्थाको अवस्थाबारे अनुसन्धान सुरु गरेको छ।
युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित सैन्य उद्योगमा आक्रमण गर्दा छ जनाको मृत्यु र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा पनि ड्रोन आक्रमण गरेको छ। राष्ट्रपति जेलेन्स्कीले किरोभमा रहेको कारखानाले युक्रेनमाथि आक्रमणमा प्रयोग हुने विमान र मिसाइलका महत्वपूर्ण पुर्जा उत्पादन गर्ने बताएका छन्। युक्रेनले पछिल्ला दिनहरूमा तेल भण्डारण केन्द्रको सट्टा रसद आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै आएको छ।
राष्ट्रपति जेलेन्स्की आगामी साता अमेरिका भ्रमणमा जाने तयारीमा छन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा युक्रेन–रुस युद्ध अन्त्यका लागि शान्ति वार्तालाई पुनर्जीवित गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रोमानियाका राष्ट्रपति निकुसोर डानले शुक्रबार आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेको एक रुसी ड्रोनलाई रोमानियाली एफ–१६ लडाकु विमानले खसालेको बताएका छन्।
