संघीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यसैबीच, सङ्घीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक पनि आज बस्दैछ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घलगायतका सरोकारवाला निकायहरूसँग छलफल गरिनेछ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। बैठकमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ। पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल हुनेछ।
राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विषय विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल गरिनेछ।
