संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २३–२४ को घटनाका ‘देशद्रोही’ प्रति सरकार मौन रहेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सरकारको नीति तथा कार्यक्रमलाई पुरानैको निरन्तरता भन्दै आलोचना गर्यो।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति सरकार किन मौन ? भन्दै प्रश्न गरे। थापाले नेपाली सेनाको भूमिकामाथि पनि संसदको रोष्ट्रमबाट प्रश्न उठाए। ‘देश खरानी हुँदा, आफ्नै परामाधिपतिको मुख्यालयमा धावा बोल्दा सेना किन राष्ट्रको मुख्य रक्षक रहस्यमयी ढंगबाट किन मुकदर्शक बन्यो ?’ उनले प्रश्न गरे।
यसअघि बादलले रास्वपालाई ‘अति महत्त्वकांक्षी अराजक जमातको अस्थायी गठजोड’ भनेपछि रास्वपा सांसदले नियमापत्ति जनाएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरूको ‘हुबहु फोटोकपी’ भएको तर्क गरे। उनले नयाँ अनुहार र नयाँ पुस्ताको नेतृत्व आएपछि कर्णालीका जनताले केही परिवर्तनको आशा राखेका थिए। तर, नीति तथा कार्यक्रमले त्यसलाई निराशामा बदलेको बताए।
सांसद शाहीले कर्णालीको भूगोल र त्यहाँका जनताको पीडालाई राज्यले सधैंझैं यसपटक पनि उपेक्षा गरेको भन्दै आक्रोश व्यक्त गरे। नेपालभर २० हजार किलोमिटर सडक कालोपत्रे हुँदा कर्णालीमा जम्मा ३ सय किलोमिटर मात्रै छ। यो विभेद हो। बिरामी बोकेर अस्पताल पुर्याउन नपाउँदै बाटोमै ज्यान जाने अवस्था अझै छ। आकाशमा हेलिकोप्टर देख्दा गाउँलेहरू आशा र पीडाले एकैपटक भरिन्छन्।
शाहीले समावेशिताको कुरा गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै उपलब्धिको श्रेय आफूलाई मात्र दिएकोमा पनि प्रतिवाद गरे। इतिहासको तथ्य प्रस्तुत गर्दै उनले जनजाति समुदायबाट मरिचमान सिंह श्रेष्ठ, पद्मसुन्दर लावती र द्वारिकादेवी ठकुरानी जस्ता व्यक्तित्वहरू पहिले नै राज्यको जिम्मेवारीमा पुगिसकेको बताए। उनले ‘हिजो केही नभएको र आज मात्रै सबै भएको’ भन्ने भाष्य सत्य नभएको दाबी गरे।
