मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अम्लेखगञ्ज डिपोमा पेट्रोल आयात दोब्बर, डिजेलमा सामान्य वृद्धि

चालु आर्थिक वर्षमा अम्लेखगञ्ज डिपोमा पेट्रोल आयात दोब्बरले बढेर ४ लाख किलोलिटर पुगेको छ। डिजेल आयात सामान्य वृद्धि भएको छ। पाइपलाइनबाट आयातले ढुवानी खर्चमा वार्षिक १ अर्बभन्दा बढी बचत भएको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
२१५

नेपाल आयल निगमको अम्लेखगञ्ज डिपोमा चालु आर्थिक वर्षमा पेट्रोल आयात दोब्बरले बढेको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष पेट्रोल आयातको परिमाण बढेको हो। निगमको प्रादेशिक डिपो अम्लेखगञ्जका अनुसार गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्षमा ४ लाख किलोलिटर आयात भएको छ।

पाइपलाइनबाट पेट्रोल आयात सुरु भएसँगै परिमाणमा वृद्धि भएको हो। गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात हुन थालेको हो, जबकि डिजेल २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ।

यस अवधिमा डिजेल आयातमा सामान्य वृद्धि मात्र देखिएको छ। चालु आर्थिक वर्षमा ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल आयात भएको छ, जुन गत आर्थिक वर्षको ९ लाख किलोलिटरको तुलनामा सामान्य मात्र बढी हो।

अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले ट्यांकरबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुने गरेकोमा अहिले पाइपलाइनबाट देशभरका ठुला सहरहरूका लागि ढुवानी हुने गरेको बताए। उनले गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण दुवै राम्रो अवस्थामा रहेको जानकारी दिए।

अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी र निजी पम्पहरूमा पेट्रोलियम पदार्थ बिक्री वितरण हुने गर्दछ। डिपो प्रमुख साहका अनुसार सरकारी पम्पहरूका लागि दैनिक १२५ देखि १५० ट्यांकर पेट्रोल र २ सयदेखि २५० ट्यांकर डिजेल लोड हुने गर्दछ। निजी पम्पहरूका लागि दैनिक १५० ट्यांकर पेट्रोलियम पदार्थ लोड हुने गरेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गरेको छ। अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात हुन्छ, जुन ७० किलोमिटरको दूरीमा पर्छ। मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ।

पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषणजस्ता समस्यामा कमी आएको छ। ढुवानी खर्चमा प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको निगमले जनाएको छ।

यद्यपि, पछिल्लो समय इन्धनको खपत घट्न थालेको छ। प्रादेशिक डिपो कार्यालय अम्लेखगञ्जका अनुसार अमेरिका र इरानबीच बढ्दो तनावका कारण इन्धनको मूल्य बढेसँगै सबैखाले इन्धनको खपत घटेको हो। विगतमा दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकोमा अहिले दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको डिपो प्रमुख साहले बताए। मट्टितेलको बिक्रीमा पनि उल्लेख्य गिरावट आएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार