नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। जेठ १२ देखि १५ गतेसम्म सञ्चालित परीक्षामा २,२६३ जना सहभागी भएकामा १,५१५ जना मात्र सफल भए।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार, स्वदेशी कलेजबाट पढेका विद्यार्थीको उत्तीर्ण दर राम्रो छ। विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।
एमबीबीएसतर्फ नेपालका कलेजबाट सहभागी १,२५४ मध्ये ७६.७९ प्रतिशत (९६३ जना) उत्तीर्ण भए। यसको तुलनामा चीनबाट आएका १३३ मध्ये १५.०४% (२० जना), बङ्गलादेशबाट आएका ३६७ मध्ये ४१.१४% (१५१ जना), भारतबाट ४२.३१% र फिलिपिन्सबाट २८.५७% मात्र सफल भए।
इजिप्ट, कीर्गिस्तान, रुस र युक्रेनबाट पढेर आएका कोही पनि यसपटक उत्तीर्ण भएनन्।
बीडीएसतर्फ पनि स्वदेशी कलेजकै नतिजा उत्कृष्ट छ। नेपालका कलेजबाट ४०० सहभागीमध्ये ८५.७५% (३४३ जना) उत्तीर्ण भए। भारतबाट बीडीएस पढेर आएका १७ मध्ये एक जना मात्र सफल भए।
एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३.१०% नतिजासहित उत्कृष्ट बन्यो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७% नतिजासहित क्रमशः दोस्रो र तेस्रो भए। बीडीएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी सफल भए।
विदेशबाट पढेर आएका परीक्षार्थीको नतिजा कमजोर हुनुमा भाषागत अवरोध र पाठ्यक्रमको भिन्नता मुख्य कारण रहेको डा पाण्डेले बताए।
