NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पोखराबाट भारतका लागि पहिलो उडान, भूराजनीतिक अर्थपूर्ण संकेत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि पहिलो पटक सिधा उडान भएको छ। मुक्तिनाथ दर्शनबाट फर्केका भारतीय बिरामी शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत भोपाल लगिएको हो। यस घटनालाई भूराजनीतिक अड्चनबीच कूटनीतिक ढोका खुलेको संकेतका रूपमा हेरिएको छ।
Bikram Magar
Bikram Magar
20 May 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
Share:

भारतका केन्द्रीय कृषिमन्त्री शिवराज सिंह चौहानको समन्वयमा एक भारतीय बिरामीलाई उद्धार गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ पहिलो पटक सिधा उडान भएको छ।

मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका भारतको मध्य प्रदेश, भोपालका शम्भु दयाल श्रीवास्तवलाई आइतबार मेडिकल चार्टरमार्फत स्वदेश लगिएको हो। मुक्तिनाथबाट फर्किँदा मुटु र फोक्सोमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा भोपालका लागि उडान भरेको थियो। उक्त जहाज भारतको राजा भोज विमानस्थलमा अवतरण गर्‍यो। विमानमा बिरामी श्रीवास्तवसहित डा. राज बस्नेत र सरोज अर्यालसहित तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी कुल ६ जना सवार थिए।

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा यो चार्टर उडान तय भएको चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए। श्रीवास्तव मन्त्री चौहाननिकट रहेका कारण उच्चस्तरीय समन्वयमा उडान अनुमति प्राप्त भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले पोखराबाट भारतका लागि उडान भएको यो पहिलो पटक भएको पुष्टि गरे। सन् २०७९ पुस १७ गते उद्घाटन भएको यस विमानस्थलबाट यसअघि चीन र भुटानलगायतका देशमा चार्टर उडान भइसकेका छन्, तर भारततर्फ भने पहिलो पटक उडान भएको हो।

विमानस्थल निर्माण सम्पन्न हुनुपूर्वदेखि नै पोखराबाट सिधा उडानका लागि भारतसँग छलफल भए पनि भारतले अनुमति दिएको थिएन। प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको भारत भ्रमणका क्रममा पोखरा विमानस्थलबाट उडानको एजेन्डाले प्राथमिकता पाउने गरे पनि भारत यसमा सकारात्मक बनेको थिएन।

भारतीय नागरिक बिरामी पर्दा उद्धारकै रूपमा भए पनि पहिलो पटक पोखराबाट भारततर्फ जहाज उड्नुलाई विमानस्थल प्रशासनले अर्थपूर्ण रूपमा हेरेको छ।

सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच विमानस्थल निर्माणको सम्झौता भएको थियो। त्यसपछि सन् २०१६ मा नेपाल सरकार र चाइना एक्जिम बैङ्कबीच २१६ मिलियन अमेरिकी डलर ऋण लिने र सीएएमसीले ‘टर्न की प्रोजेक्ट’ का रूपमा निर्माण गर्ने सहमति भएको थियो। २२ अर्ब लगानी भएको भनिएको यो विमानस्थल अहिले भ्रष्टाचारको दलदलमा रहेको चर्चा छ भने धमाधम मुद्दा दायर पनि भइरहेका छन्।

विमानस्थल निर्माणमा भ्रष्टाचार र भूराजनीतिक मारका कारण नियमित उडान हुन सकेको थिएन। तर, एक भारतीय नागरिक बिरामी परेको अवस्थामा पहिलो पटक चार्टर उडान सम्भव भयो।

विमानस्थल प्रमुख जगन्नाथ निरौलाले बिरामी उद्धारकै रूपमा भए पनि भारततर्फ उडानको ढोका खुलेको र यसले थप समन्वयका लागि सहजता ल्याउने विश्वास व्यक्त गरे।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार