प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुँदा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नजर जुधाउन चाहेनन्। यो दृश्य गत साताको घटनाको ठिक विपरीत थियो। प्रचण्डले गत बुधबार प्रधानमन्त्री शाहमाथि संसद्मा कसैको अनुहार नहेरी हिँडेको आरोप लगाएका थिए।
बुधबारको बैठक सुरु हुनुअघि प्रचण्डको कुर्सी विपक्षी बेन्चमा खाली थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढीपहिरोबारे सम्बोधन गर्ने कार्यसूची तय भएपछि प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसहित संसद् भवन पुगेका थिए।
सदाझैं कालो चस्मा र औपचारिक पोसाकमा सजिएका प्रधानमन्त्री बैठक कक्षभित्र प्रवेश गरिरहँदा केही ढिला गरी प्रचण्ड पनि संसद्मा छिरेका थिए।
प्रधानमन्त्री शाहले लामो समय संसद्मा नबसी छिट्टै निस्कने क्रममा अघिल्लो लहरमा बसेका प्रचण्डतर्फ हेरेका थिए। तर, संसद्को रोस्ट्रमबाट संवाद र सहकार्यका लागि अनुहार हेर्नुपर्ने पाठ पढाएका प्रचण्डले प्रधानमन्त्रीको उपस्थितिलाई बेवास्ता गर्दै अर्कोतर्फ टाउको घुमाए।
गत बुधबारको बैठकमा प्रधानमन्त्री संसद्मा आएर संक्षिप्त धारणा राखी बाहिरिएपछि रुष्ट बनेका प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीले सरकारलाई अप्ठ्यारोमा पार्ने चेतावनी दिएका थिए। उनले सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले अरूलाई विश्वासमा लिनुपर्ने र उनीहरूका अनुभवलाई पनि महत्त्व दिनुपर्ने बताए।
त्यतिबेला प्रचण्डले भनेका थिए, ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने यो कस्तो कार्यशैली हो? यसरी त चल्दैन।’
