NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवाको पुकार: ६ दिन बित्दा पनि उद्धार र राहत पुगेन, राज्य बेखबर

रसुवाको उत्तरी भेगमा भदौ १० गते आएको बाढीले जनजीवन अस्तव्यस्त पारेको छ। ६ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका धेरै बस्तीमा राज्यको उद्धार संयन्त्र पुग्न सकेको छैन। सडक, पुल, विद्युत् र सञ्चार संरचना क्षतिग्रस्त हुँदा स्थानीय सरकार निरीह बनेको छ भने कयौं मानिस सम्पर्कविहीन अवस्थामा छन्।
Maya Thapa
Maya Thapa
31 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी उद्धार
Share:

रसुवाको उत्तरी भेगमा भदौ १० गते आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त पारेको छ। ६ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका धेरै बस्तीमा राज्यको उद्धार संयन्त्र पुग्न सकेको छैन। सडक, पुल, विद्युत् र सञ्चार संरचना क्षतिग्रस्त हुँदा स्थानीय सरकार निरीह बनेको छ भने कयौं मानिस सम्पर्कविहीन अवस्थामा छन्।

बाढीले उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका बस्तीहरू तहसनहस बनाएको छ। भोटेकोसी र त्रिशूली नदी किनारमा घरका अवशेष, सामान र कतिपय शवसमेत देखिन्छन्। व्यवस्थापन हुन नसक्दा शवहरू सडेर दुर्गन्ध फैलिन थालेको छ।

टिमुरेभन्दा माथि केरुङ नाकासम्मको क्षेत्रमा धेरै मानिस सम्पर्कविहीन रहेको रसुवाकी पत्रकार अनु आचार्यले बताइन्। उनले उद्धारका लागि हेलिकप्टरबाट मानिस पठाएर ड्रोनमार्फत खोजी गर्न आग्रह गर्दा पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको गुनासो गरिन्। ‘टिमुरेदेखि माथि घट्टेखोला, रसुवागढीसम्मको सडक माथिको जंगलमा, कुनाकाप्ची र खोलाखोल्चीमा हेलिकप्टरबाट केही मान्छे झारेर ड्रोनबाट एकपटक हेरिदिनुस् भनेर सबैतिर हारगुहार गर्दा पनि केही भएन,’ आचार्यले भनिन्, ‘सम्बन्धित निकायबाट जवाफ आउँछ, ‘सबैतिर खटिएका छन् म्याम, काम भइराखेको छ, त्यही क्षेत्रमा पुग्न सकिएन।’

उनले उद्धार निकायले प्रमाण माग्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै कम्तीमा एकपटक ती क्षेत्रमा राम्रोसँग खोजी गरियोस् र वास्तविक अवस्था सार्वजनिक गरियोस् भन्ने आग्रह गरिन्।

स्थानीय हाइड्रो पावरका प्राविधिक विनोद थिङले रसुवाको ग्राउन्ड जिरोको वास्तविकता बाहिर आउन नसकेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई रसुवा पुग्न आग्रह गरेका छन्। ‘प्रत्येक घरको आफ्नै कहानी छ। प्रत्येक रसुवाको आफ्नै पीडा छ,’ उनले भने।

वैज्ञानिक समाजवादी पार्टी नेपालका नेता हिमांशुले अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा ९ जना विदेशी नागरिकसहित ३०० भन्दा बढी मानिस फसेको दाबी गरे। तर, त्यहाँ उद्धारको ठोस प्रयास हुन नसकेको उनको भनाइ छ। उनले सयदेखि ५ सयसम्म मानिस पुरिएको हुन सक्ने आशंका व्यक्त गर्दै सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरे।

धुन्चेमा राहत पुगे पनि माथिल्लो क्षेत्रमा अझै पुग्न सकेको छैन। बाढीले रसुवा प्रवेश गर्ने पुल बगाएपछि जिल्लामा खाद्यान्न ढुवानी प्रभावित भएको छ। चामल, दाल, तेल, नुन, ग्यास, पेट्रोल र तरकारीको अभाव देखिन थालेको छ।

नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले राहत वितरण व्यवस्थापनमा सरकारलाई सुझाव दिँदै राहत बोकेर जाने व्यक्ति वा संस्थालाई एकद्वार प्रणालीका नाममा नरोक्न आग्रह गरे।

रसुवाका कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले आफूहरू केही गर्न नसक्ने अवस्थामा पुगेको भन्दै सरकारसँग कडा अपिल गरे।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार