रास्वपाको काठमाडौं महानगर समिति चयनका लागि जेठ १८ मा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ। यो पार्टी गठनपछिको पहिलो महानगर अधिवेशन हो।
केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म तोकिएको छ। रास्वपाले वडा र पालिका तहको अधिवेशन प्रक्रिया सुरु गरिसकेको छ। काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटाको अधिवेशन सकिएको छ।
महानगर संयोजक शशि पन्तका अनुसार, २६ नम्बर वडाको अधिवेशन मात्र बाँकी छ। बाँकी वडाको अधिवेशन सकेर जेठ १८ गते महानगर समितिको अधिवेशन हुनेछ। पन्तले अनलाइनखबरसँग भनिन्, ‘महानगरको अधिवेशनको मिति निश्चित छ। स्थान आज टुंगो लाग्छ।’
पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन गरे उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ। काठमाडौं महानगरमा भने शतप्रतिशत वडाको अधिवेशन हुनेछ। पन्त २०७९ साउनदेखि महानगर संयोजक छन्।
