राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा सांसद र पार्टी प्रतिनिधिहरूमाथि कार्यकर्ताले हातपातको प्रयास गरेका छन्। शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा बसेको बैठकमा असन्तुष्ट कार्यकर्ताहरूले पार्टीका प्रतिनिधिसभा सदस्यहरू र खटाइएका प्रतिनिधिमाथि आक्रमणको प्रयास गरेका हुन्।
असन्तुष्ट कार्यकर्ताहरूको उग्र व्यवहारका कारण रास्वपाका बारा १ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह, ३ का अरविन्द साह, ४ का रहबर अन्सारी र पार्टीले खटाएकी प्रतिनिधि कामनी चौधरीलगायत नेताहरू बैठक छोडेर भाग्न बाध्य भएका थिए।
बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पार्टीले खटाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठन विस्तारको प्रक्रियाबाट बाहिर राख्न खोजेको आरोप लागेको छ।
वर्षौंदेखि रास्वपाको संगठन विस्तारमा लागेका कार्यकर्ताहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा टिकट दिने साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको थाहा पाएपछि बैठकमा विवाद सुरु भएको थियो। यस विषयमा जवाफ माग्दा कार्यकर्ताहरू उग्र बनेका थिए।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गरी सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो। केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लामा विवाद थप गहिरिएको छ।
बैठकमा सहभागी भएका सांसदहरूले गुण्डा लिएर आएको र पुराना कार्यकर्ताहरूलाई बोल्न नदिएको देखेर आफूहरूले प्रतिवाद गर्नुपरेको रास्वपाका संस्थापक अध्यक्ष चन्दन सर्राफले बताए। पुराना कार्यकर्ताहरूले सांसदहरूले स्थानीय तहका उम्मेदवारहरूको टिकट बिक्री गरिसकेको थाहा पाएपछि त्यसको जवाफ माग्न खोज्दा प्रहरी र गुण्डाहरू लगाएर कुट्न खोजिएको उनको आरोप छ।
घटनापछि भागेका रास्वपाका सांसदहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने बताएका छन्।
